Header Ads

प्रधानमन्त्री ओलीको भ्रमणबाट भारतीय लगानी बढ्ने निजी क्षेत्रको अपेक्षा

नयाँ दिल्ली, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणबाट दुई देशबीचको राजनीतिक सम्बन्धमा सुधार आएकाले अब नेपालको आर्थिक विकासमा भारतीय निजी क्षेत्रको लगानी बढ्ने अपेक्षा उद्यमी तथा व्यवसायीले गरेका छन् ।
भ्रमण दलमा रहेका निजी क्षेत्रका अगुवा व्यवसायीले भारतसँगको नेपालको व्यापार घाटा कम गरी लगानी बढाउन अनौपचारिक रुपमा विभिन्न पहल गरिरहेका छन् । नेपालको भारतसँगै व्यापार घाटा वार्षिक रु ७०० अर्ब (झन्डै कुल बजेट) छ । हाल नेपालमा डाबर कम्पनीलगायत करिब १५० भारतीय कम्पनीले काम गरिरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणाले पछिल्लो समय दुई देशबीचको सम्बन्ध बिग्रिएका कारण व्यवसायी मात्र नभई सिङ्गो मुलुकले असहजता भोगेको अवस्थामा प्रधानमन्त्री ओलीको भ्रमणले आगामी दिनमा सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो । भ्रमणका अवसरमा ऊर्जा विस्तार, थप नाका र मार्ग खुलाउने सम्बन्धी समझदारीसमेत भएकाले आगामी दिनमा यसले नेपालमा भारतीय लगानी बढ्ने आशा गरिएको राणाको भनाइ छ ।
महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीको भ्रमणले स्थितिलाई सम्हालेर नयाँ चरणमा सम्बन्ध विकसित गरे
को र व्यवसायी प्रमण्डलले नयाँ दिल्ली र मुम्बईमा भएका छलफलले नेपाली व्यवसायीको नेतृत्वले एकताबद्ध भएर प्रस्तुत देखाएको र दुई देशबीचको व्यापार सम्झौतालाई पुनरावलोकन गरी व्यापार घाटा बढाउनेतर्फ लाग्नुपर्ने खाँचो आँैल्याए ।
गैरआवासीय नेपाली सङ्घका संस्थापकसमेत रहनुभएका डा उपेन्द्र महतोले भारत नेपालको सबभन्दा ठूलो व्यापार साझेदार रहेको अवस्थामा अब नेपालको ठूलो लगानीकर्ताका रुपमा पनि भारत हुनुपर्नेमा जोड दिँदै भने, “नेपालमा लगानी गरेर कुनै जोखिम छैन । हामी भारतीय लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दछौँ ।”
व्यवसायी चण्डी ढकालले प्रधानमन्त्रीको भ्रमणले दुबै देशका व्यावसायिक लगानी र सम्बन्ध विस्तारको वातावरण निर्माण गरेको र यसलाई कार्यान्वयनमा जानका लागि आगामी दिनमा नयाँ सम्भावना र अवसर खोजेर जान सकिने प्रतिक्रिया दिनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधानले दुई देशका साना उद्योगीबीच अलग्गै भेटवार्ता भएको र विगतको तुलनामा सम्बन्ध सुधार भएको बताउनुभयो । सुनिश्चितता हुने बताउँदै उहाँले लगानी बढाउन भारतीय व्यवसायी र व्यापारीलाई आग्रह गर्नुभयो ।
भारतको छदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ कमर्स र असोचाम, भारतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय लगानीकर्तालाई नेपाली व्यवसायी सरहकै व्यवहार गरिने उल्लेख गर्दै नेपालमा लगानीका लागि उचित वातावरण भएको बताएका थिए ।
नेपालमा जलविद्युत्, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानीका लागि आवश्यक सहजीकरण गर्न नेपाल लगानी बोर्डले आह्वान पनि गरेको थियो ।

श्रोत - रातोपाटी

No comments

Powered by Blogger.