Header Ads

निर्यात सम्भाव्यताको सरकारी सूचीमा छाला/जुत्ता

माघ ३, २०७२- मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट १२ वस्तु तथा सेवाको सूचीमा छालाजन्य उत्पादन र जुत्ता पनि समावेश गरिएको छ । यसअघिका १९ वस्तु तथा सेवाको सूची परिमार्जन गर्दै हालै वाणिज्य मन्त्रालयले जुत्तालाई पहिलोपटक समावेश गरेको हो ।
विश्व व्यापार संगठन डब्लुटीओ अन्तर्गतको इन्हान्स्ड इन्टिग्रेटेड फ्रेमवर्क (ईआईएफ) सँगको सहकार्यमा उक्त सूची तयार पारिन्छ । यो सूचीमा परेपछि निर्यात प्रवद्र्धनका लागि यी संस्थाबाट सहयोग पनि पाइने हुदा नेपाली जुत्ता उद्योगका लागि यो उत्कृष्ट अवसर बनेको छ ।
निजी क्षेत्रको लगानी विस्तार र प्रतिस्पर्धा बढेर दुई दशकभित्र आसलाग्दो व्यवसायका रूपमा सूचीकृत गराउन सकेकैले नेसनल ट्रेड इन्टिग्रेसन स्ट्राटेजी (एनटीआईएस) को सूचीमा परेको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रबिनकुुमार श्रेष्ठका अनुसार एनटीआईएस सूचीमा छाला तथा जुत्ताको परेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) ले जानकारी गराइसकेको छ ।
‘उहाँहरूले अब तपाईंहरू निर्यात गर्न तयार रहनुस् भनेर सूचना दिइसक्नुभएको छ,’ उनले भने, ‘तत्कालै जुत्ता/चप्पल चैं हैन, छालाका अन्य सामग्रीहरू निर्यात गर्न सक्छौं ।’ आवश्यक सहयोग भए जुत्ता/चप्पाल पनि निर्यात गर्न सक्ने दाबी उनको छ । विद्युत, दक्ष जनशत्तिका लागि तालिम र अन्य सेवा सुविधाको अपेक्षा व्यवसायीहरूको हो ।
नेपाली जुत्ता उद्योगले केही उत्पादन हाल भारतमा पनि निर्यात गर्दै आएका छन् । साथै नेपालमा माग हुने जुत्ता/चप्पलमा आत्मनिर्भताको बाटोमा पनि यो उद्योग देखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार मुलुकमा ५ करोड जोर जुत्ता/चप्पलको माग छ । कुल मागको ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादनले पूर्ति गरिरहेको छ । विद्यालय, कलेज र सुरक्षा गार्डहरूले प्रयोग गरिने जुत्ताको माग पूर्ण रूपमा स्वदेशी उत्पादनले धानेको व्यवसायीहरू बताउँछन् । ‘लेडिज (महिला) ले लगाउने जुत्ता/चप्पलको मागको ८० प्रतिशत पूर्ति गरेका छौं ।
अन्य जुत्ता/चप्पल भने लगभग ६० देखि ६५ प्रतिशतसम्म आत्मनिर्भर भएका छांै,’ उनले भने, ‘एनटीआईएस सूचीमा हाम्रो उत्पादन पर्नुले आत्मनिर्भर र निर्यात दुवैका लागि सहयोग पुगेको छ ।’
यो सूचीमा परेका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा गैरसरकारी तथा सरकारी निकायले सहयोग पुर्‍याउनेछन् । प्राविधिक, व्यापार विविधीकरण, गुणस्तरीयता, अन्तर्राष्ट्रिय बजारबारे अभिमुखीकरणलगायत कामका सहजीकरण गर्ने चलन छ । त्यसका लागि आवश्यक देखेर सरकारले जुत्ता/चप्पललगायत उत्पादनलाई लगायत छालाबाट उत्पादन हुने सामग्रीहरूलाई एनटीआईएस सूचीमा राखेको हो । सरकारी यो निर्णयसँगै लगानी विस्तार र उत्पादनमा थप सहयोग पुग्नेछ । केही उद्योगीहरूले थप लगानी विस्तारको तयारीसमेत थालेका छन् । एसोसिएसनका अनुसार हालसम्म जुत्ता उद्योगमा करिब १५ अर्ब रुपैयाँभन्दा बढी लगानी छ ।
दैनिक २५/३० हजार जोर उत्पादन गर्न सक्ने क्षमताको उद्योग करिब २० वटा छन् ।
यस क्षेत्रमा वार्षिक करिब ३० अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । जम्मा लगानी भने १५ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको छ । १३ अर्ब रुपैयाँ त बैंकिङ लगानी छ । कच्चापदार्थमा भने आयातकै भर हो । ७० प्रतिशतसम्म कच्चापदार्थ आयातितको भर पर्नुपरेको छ ।
मुलुकमा जुत्ता/चप्पल उत्पादन गर्ने उद्योग संख्याको तथ्यगत तथ्यांक नभए तापनि घरेलु तथा साना उद्योग विभाग र समितिमा ८ सय ५०, कम्पनी रजिस्ट्रार कार्यालयमा २ सय ६ वटा दर्ता भएका छन् । यस्तै, परम्परागत सीपमा आधारित दर्ता नभएका अनुमानित ५ सय र हस्तकलाजन्य ऊनी र प्राकृतिक रेसामा आधारित करिब ५ सय गरेर करिब २ हजारको संख्यामा रहेको जनाइएको छ ।
‘हाम्रो एसोसिएसनमा मात्रै ७० वटा उद्योग छन् । सबै गरेर एक हजारभन्दा बढी उद्योग रहेको हाम्रो अनुमान छ,’ एसोसिएसनका पूर्वअध्यक्ष रामकृष्ण प्रसाई भन्छन्, ‘जुत्ता/चप्पल उद्योगमा निजी क्षेत्रले लगानी विस्तार बाँसबारी जुत्ता उद्योग बन्द भएपछि मात्रै हो ।
कतिपय पुराना उद्योगले क्षमता बढाउन अत्याधुनिक प्लान्ट जडान गरेका छन् । प्रसाईका अनुसार विक्रम संवत् २०५०/५२ सालबाट निजी क्षेत्रले लगानी सुरु गर्‍यो । ‘अत्याधुनिक प्लान्ट २०६५/६६ बाट भित्रिएका हुन्,’ उनले भने, ‘हिजो आज सञ्चालित उद्योगहरूले नै लगानी वृद्धि गरी क्षमता र उत्पादन बढाउन लागिपरिरहेका छन् ।’
उनका अनुसार प्रत्यक्ष रूपमा सबै उद्योगले तीन लाखजनालाई रोजगारी दिएको अनुमान छ । ‘अप्रत्यक्ष रोजगारी पाउनेको संख्या यकिन छैन,’ उनले भने । यो उद्योगमा रोजगारी पाउनेमध्ये ३० प्रतिशत महिला छन् । प्रत्यक्ष रोजगारी पाउनेले मासिक न्यूनतम ८ हजार रुपैयाँभन्दा माथि तलब पाउँछन् । प्राविधिक ज्ञान भएकाहरूले बढी नै पाउँछन् । थप रोजगारी सिर्जना र निर्यातका लागि भने यी उद्योगीहरू पनि वातावरण नभएको गुनासो गर्छन् । नीतिगत सुधार, नियमित विद्युत, प्रशासनिक झन्झट, राजस्वमा हेरफेर र पूर्वाधार विकास जुत्ता उद्योगीहरूको माग हो ।
बजारको भने खासै समस्या नरहेको उनीहरूको दाबी छ । बजार प्रवद्र्धनका लागि हरेक वर्ष एसोसिएसनले विभिन्न मेला तथा प्रदर्शनीहरू गरिरहेका छन् । ‘एनटीआईएस सूचीमा परेकाले अब विदेशमा पनि मेला प्रदर्शनी गर्न हामीलई सहयोग पुग्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘दैनिक उद्योग सञ्चालनका लागि वातावरण भइदिए उत्पादन वृद्धि गरी निर्यात गर्न सजिलो हुने थियो ।’ बन्द, हडताल, पछिल्लो समय आएर कच्चापदार्थ र इन्धन अभावले उद्योग पूर्ण क्षमतामा सञ्चालनमा अउन सकिरहेका छैनन् ।

श्रोत - कान्तिपुर समाचार

No comments

Powered by Blogger.