Header Ads

वीरगन्ज दिनभर तनावग्रस्त

वीरगन्ज : आन्दोलनरत मधेसी दलका कार्यकर्ता र प्रहरी बिचको झडपका कारण वीरगन्ज आइतवार पनि दिनभर तनावग्रस्त रहयो ।घण्टाघर चोकमा आन्दोलनकारीहरुले मोटरसाइकल तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप सुरु भएको हो।
 
आइतवार वीरगन्जको घण्टाघर चोकमा मोटरसाइकल तोडफोड गर्दै मधेसी दलका कार्यकर्ताहरु । तस्बिर : क्रान्ति शाह


झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरी माथि ढुंगामुढा गरेपछि प्रहरीले पनि ढुंगा चलाएका थिए। दुवै तर्फबाट  ढुंगा चलेका कारण घण्टाघर र माइस्थान चोक क्षेत्र दिनभर तनावग्रस्त बनेको हो। प्रहरी माथि ढुंगा हानेको आरोपमा प्रहरीले १०जना प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा गम्भीरा साह , समीम अली ,भागीरथ साह कानु ,सोयल अख्तर ,आलोक सिंह ,बलिराम पटेल ,रोहीत गुप्ता , रन्जन गुप्ता सहित १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। उनीहरु सबैलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रउ श्रेष्ठले जानकारी दिए।
प्रहरीले हानेको ढुंगाले लागर दुइ जना प्रहरी पनि सामान्य घाइते भएको उनले बताए।आन्दोलनकारीहरुले आइतवार प्रदर्शनका क्रममा  घण्टाघर चोकमा मधेसी दलका कार्यकर्ताहरुले दुइ वटा टयाम्पु र आधा दर्जन मोटरसाइकलमा तोडफोड  पनि गरेका छन् ।आन्दोलनकारीहरुले ना १ ह ९३३ र ना १ ह ६६८ नम्बरको टयाम्पु तथा ना ८ प १८९० ,ना १६ प ४४८४,ना १ प ६६२८  नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन्।
 
 वीरगन्जको घण्टाघर , माइस्थान , पावरहाउस चोक लगायतका स्थानमा मधेसी दलका कार्यकर्ताहरुले बिहानै देखि टायर बालेर प्रदर्शन गरेका थिए। मधेसी दलको प्रदर्शनका कारण शुक्रबार देखि बन्द रहेको वीरगन्जको मेनरोडका बजार र पसलहरु आइतबार पनि खुल्न सकेन। यस्तै आन्दोलनकारीहरुले वीरगन्जमा आइतवार पनि मोटरसाइकल , रिक्सा , टाँगा , टेम्पु लगायतका साना सवारी सधानहरु चल्न दिनन्।
 
 मधेसका माग पुरा गराउन सरकार र प्रमुख तीन दललाइ अन्तिम धक्का दिने बताउदै आएका मधेसी दलहरुले शुक्रबार देखि आन्दोलनलाइ फेरि चर्काएका हुन्। नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन पुष ३ गते शुक्रबार देखि मधेसी दलहरुले आन्दोलनलाइ थप शसक्त बनाएका हुन्।
 
 संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गते देखि नै बन्द हडताल गर्दै आएका हुन्। यस्तै वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा ८९ दिन देखि मधेसी दलले धर्ना दिएर नाका पनि ठप्प पार्दै आएका छन्।

मधेसी दलका नेता कार्यकर्ताहरुले असोज ७ गते देखि दिनरात २४ सै घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन।मितेरी पुलको धर्नामा आइतबार पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनका नेता कार्यकर्ताहरु बसेका छन्।
श्रोत - अन्नपूर्ण पोष्ट

No comments

Powered by Blogger.