Header Ads

म्याच फिक्सिङ प्रकरणपछि नायकबाट खलनायक


मंसिर २५, २०७२- 
बडादसैं नजिकिँदै थियो, ठीक त्यही बेला नेपाली फुटबलमा अत्याशलाग्दो खबर आयो । २७ असोजको त्यो खबर थियो, खेल मिलोमतो गरेको आरोपमा पाँच जना फुटबल खेलाडी पक्राउ । यो यति सनसनीपूर्ण समाचार थियो कि जसले देशको सर्वोच्च निकायकै समेत चासो बढायो । देशमा चौतर्फी समस्या बढेपछि विविधतापूर्ण समाजलाई एकताको सूत्रमा बाँध्ने काम फुटबल र क्रिकेटले गरिरहेको थियो । त्यसै क्रममा खेल मिलोमतोको आरोपमा चार खेलाडी र एक प्रशिक्षक समातिएको खबर भाइरल भयो । भारतको नाकाबन्दी चर्कंदै जाँदा पनि त्यसको चर्चा कम भएन ।

६ वर्षयता नेपाली राष्ट्रिय टिमको नेतृत्व गरिरहेका सागर थापा, उपकप्तान सन्दीप राई, १२ वर्षअघिदेखि राष्ट्रिय टिममा रहेका रितेश थापा, राष्ट्रिय टिमबाट खेलिसकेका विकाससिंह क्षेत्री र पूर्वराष्ट्रिय खेलाडी तथा गत वर्ष थ्रीस्टारको प्रशिक्षक रहेका अन्जन केसीलाई खेल मिलोमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सागर र रितेश राष्ट्रिय टिमका वरिष्ठ खेलाडी पनि थिए, जसले टिमको नेतृत्व गर्दै नयाँ खेलाडीहरूलाई सही बाटो देखाउनुपर्ने थियो । तिनै खेलाडी पक्राउ परेपछि फुटबलप्रेमीहरू अचम्मित हुनु स्वभाविक हो ।

नेपालमा खेल मिलोमतोका विषयमा कुनै कानुन बनेको छैन । त्यसैले प्रहरीले उनीहरूविरुद्ध राज्यद्रोहको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ, जुन फैसलाको तहसम्म पुगिसकेको छैन । फुटबल खेलाडीहरू दसैंमा प्रहरी थुनामै रहे पनि लक्ष्मी पूजाको अघिल्लो दिन धरौटीमा रिहा भए । यी पाँच फुटबल खेलाडीलाई आठ खेलमा हार्न मोटो रकम लिएको प्रमाणसहित प्रहरीले अदालतमा प्रस्तुत गरेको थियो ।

प्रहरी स्रोतका अनुसार विश्वकै कुख्यात म्याच फिक्सर विल्सनराज पेरुमल, डान टान आदिबाट उनीहरूले सन् २००८ यता निरन्तर रकम लिएका थिए । विशेषगरी खेल हार्न, त्यसमा पनि निश्चित गोलले र अन्त्यतिर धेरै गोल खाएर खेल हार्न उनीहरूले दसौं लाख रुपैयाँ लिएका थिए । यस्तो खेल मिलोमतोका मुख्य नाइके अन्जन केसीलाई मानिएको छ । सिंगापुर र मलेसियाबाट आएको नियमित रकम अन्जन, रितेश र सागरले बुझ्ने गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ । 

त्यस्तै अन्जन र रितेशको परिवारका सदस्यको नाममा पनि रकम भित्रिएको प्रहरीले जनाएको छ । राष्ट्रिय टिमका पूर्वफिजियो डेजिव थापाले पनि त्यस्तो रकम लिएको प्रहरीले जनाएको छ । हाल अमेरिकामा रहेका थापाविरुद्ध पनि प्रहरीले मुद्दा चलाएको छ ।

१३ वर्षयता नेपाली फुटबलमा नायकका रूपमा रहेका सागर, रितेश, सन्दीप, विकाससिंह र अन्जनलाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले गत शुक्रबार आजीवन प्रतिबन्ध लगाइसकेको छ । विशेष अदालतमा मुद्दा चलिरहेकै बेला आएको एएफसीको उक्त निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ र यो निर्णयसँगै आरोपित खेलाडीहरूको फुटबल करियरमा पूर्णविराम लागेको छ ।

एएफसीको यो कारबाहीविरुद्ध पाँचै जना फुटबल खेलाडीले १० दिनभित्र अपिल गर्न सक्छन् । त्यस्तो अपिलपछि पनि फुटबल खेलाडीहरूले अभियोगबाट उन्मुक्ति पाउन सकेनन् भने उनीहरू ज्युरिचस्थित तटस्थ अदालत ‘कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स’ जान सक्छन्, तर एएफसीको निर्णयले नेपाली फुटबलमा भने विश्वासको संकट सिर्जना गरिसकेको छ । २१ वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) को निरन्तर नेतृत्व गरेका गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को इथिक्स कमिटीले १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्र्यांक जरिवाना गरेको एक महिना पनि भएको छैन । तिनै थापाले अहिले अभियोग लागेका खेलाडीहरूले चार वर्षअघि नै फिक्सरसँग भेटेको र मिलोमतोको प्रस्ताव आएको जानकारी पाएका थिए, तर उनले खेलाडीहरूलाई ‘पशुपतिनाथको कसम’ ख्वाएर त्यो सूचना कहीं–कतै लिक नगर्न निर्देशन दिएका थिए । त्यसैले थापामाथि पनि मिलोमतोमा संलग्न भएको आशंका गरिएको छ ।

फिफाको निर्वाचनमा थापा आफैंले लिएको १ लाख १५ हजार डलर घूस र छोरा गौरवले फिफाका लागि एसियाली प्रतिनिधिको चुनावताका लिएको १ लाख डलरलाई आधार बनाएर थापाविरुद्ध इथिक्स कमिटीले कारबाही गरेको हो । कमिटीले उनीमाथि अरू थुप्रै व्यक्तिगत तथा पारिवारिक लाभ लिएको अभियोग पनि लगाएको छ । घरेलु फुटबलमा मिलोमतो उच्चबिन्दुमा पुग्दा पनि थापा मौन देखिएका छन् । राष्ट्रिय टिमको खेल हेर्न टिमका लागि घन्टौं लाइन लाग्ने फुटबलप्रेमीहरूले थापाबाट त्यसको पनि जवाफ खोजिरहेका छन् । किनभने थापा व्यक्तिगत रूपमा एएफसीको उपाध्यक्षजस्तो पदमा पुगे पनि उनको कार्यकालमा राष्ट्रिय टिमको नतिजा निरन्तर खस्किएको तथ्यांक छ ।

मिलोमतोमा समातिएका खेलाडीहरू गणेश थापाका प्रिय मानिन्छन् । संयोगको कुरा, थापाको फुटबल राजनीतिसँगै उनीहरूको फुटबल करियर पनि समाप्त भएको छ । गत वर्ष दक्षिण कोरियामा सम्पन्न एसियाली खेलकुदमा नेपाली टिमका केही खेलाडीले खेलको अन्त्यतिर धेरै गोल खाएर हार्न पैसा लिएको आशंका गरिएको थियो र त्यसले अन्तर्राष्ट्रिय मिडियामा पनि राम्रै ठाउँ पाएको थियो । त्यसपछि एएफसीले सिंगापुरस्थित कम्पनी स्पोर्ट्स राडार, नेपाल प्रहरी र युईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स) को इन्टिग्रिटी युनिटसँग सहकार्य गरेर नेपाली खेलाडीविरुद्ध अनुसन्धान थालेको थियो । उक्त अनुसन्धान निष्कर्षमा पुगेपछि ती खेलाडीहरूविरुद्ध आजीवन प्रतिबन्ध लगाउने निर्णय गरिएको एएफसीले जनाएको छ ।

म्याच फिक्सरले मिलोमतोमा प्राय: गोलकिपर तथा डिफेन्डरलाई प्रयोग गर्छन् । रितेश गोलकिपर हुन् भने अरू चार खेलाडी डिफेन्डर । सागर र रितेशबाहेक अरू तीन फुटबल खेलाडी एन्फा एकेडेमीका उत्पादन हुन् । एकेडेमीबाटै उत्पादित खेलाडी मिलोमतोमा संलग्न हुनुले पनि उक्त एकेडेमीका कतिपय सञ्चालकमाथि शंका उब्जिएको छ । प्रहरी बयानमा खेलाडीले मिलोमतोका लागि पैसा लिएको स्वीकार गरे पनि अदालतमा भने उनीहरूले आफ्नो बयान फेरेका छन् । कुनै न कुनै संलग्नताबिना प्रहरीले नेपाली समाजमा नायकका रूपमा स्थापित ती खेलाडीलाई पक्राउ गर्ने हिम्मत नै गर्ने थिएन भन्नेहरू पनि उत्तिकै छन् । त्यसैगरी एएफसीले पनि बिनाप्रमाण आजीवन प्रतिबन्ध लगाउने थिएन भन्ने कुराले समेत अहिले चर्चा पाएको छ ।


श्रोत - साप्ताहिक

No comments

Powered by Blogger.