Header Ads

युएईमा चक्कु प्रहार गरी एक नेपालीको हत्या

उमाकान्त पाण्डे/उज्यालो । युएई, पुस १० - संयुत्त अरब एमिरेट्स युएईमा एक नेपालीको हत्या भएको छ । बारा सिमराऔराका ४१ वर्षका दिपेन्द्र उप्रेतीको चक्कु प्रहार गरी दुबईमा हत्या भएको हो । 
डेरादुबईको सेलाहद्विनमा रहेको सिटी स्टार होटलमा ८ वर्ष पहिलेदेखि सुपरभाइजरको रुपमा कार्यरत उप्रेतीको गएको शुक्रबार त्यही कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत इजिप्सियन नागरिक शाईद सलहले चक्कु प्रहार गरी हत्या गरेको उहाँका सहकर्मी सिमराऔराका सुरेश खड्काले जानकारी दिनुभयो ।
कम्पनीको काम सकेर बेलुका ६ बजे अलनादा दुईमा रहेको कम्पनिकै कोठामा पुगेका उप्रेतीलाई भिसा रद्द गरी इजिप्ट फर्किने प्रतिक्षामा बसेका शाईदले सामान्य झगडामा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट उप्रेतीको छाती, घाँटीमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको कम्पनीले जनाएको छ ।
शाईदका अरु सहकर्मीहरु प्राथनाका लागि गएको र उप्रेतीका अरु सहकर्मी ड्युटीमै रहेको अवस्थामा घटना भएको हो । हत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । 
उप्रेतीको शव दुबईको रशिद अस्पतालमा राखिएको र हत्यारालाई स्थानीय प्रशासनले नियन्त्रणमा राखेको तथा घटना बारे नेपाली दूतावास आबुधाबीमा जानकारी गराई सकिएको धादिङ सेवा समाजका पूर्व अध्यक्ष भुवन गुरुङले बताउनुभयो ।
यसबारे दूतावासलाई जानकारी भएपनि थप अनुसन्धान भइरहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

श्रोत - उज्यालो अनलाईन

No comments

Powered by Blogger.