Header Ads

किरात संवतको नालीबेली

माघ १, २०७२- हरेक वर्ष माघे संक्रान्तिलाई किरातीले किरात संवत् ‘नयाँ वर्ष’का रूपमा मनाउँछन् । यो संवत्लाई किरात येले संवत्, किरात येले तङ्बे, किरात येले थोचे पनि भन्ने गरिन्छ । यो संवत् मनाउनुको गाँठी कुरो पहिचानको हो । इतिहासविद् प्रा. जगदीशचन्द्र रेग्मीका शब्दमा किरात जातिहरूले नेपालको ऐतिहासिक कालका किरात राजवंशसित जातीय र भावनात्मक सम्बन्ध गाँसेको पाइन्छ । यो संवत् इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा चलेको स्मारक संवत् हो । तर माघ १ गते नयाँ वर्षको संवत् भने दुई खाले छ । विक्रम संवत् २०७२ माघ १ (सन् २०१६ जनवरी १५) बाट किरात संवत् कलिगत आधारमा ५०७६ सुरु हुन्छ । अर्कोतर्फ हाङ यलम्बरलाई स्मारक संवत् मान्दा ३७९५ सुरु हुन्छ । अनुन्धाताहरू स्मारक संवत्चाहिँं तर्कसंगत र प्रामाणिक हुने दाबी गर्छन् । तर अध्ययनको नाममा संवत् घटाउनुहुन्न भन्नेहरूको जमात उत्तिकै छ । प्राज्ञ वैरागी काइँलाको अध्यक्षतामा सन् २००९ नोभेम्बर १४ र १५ मा काठमाडौंमा सम्पन्न ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’पछि यो संवत् घट्न पुगेको हो । मूलत: इतिहासविदहरू जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको निष्कर्षमा किरात येले संवत्लाई नयाँ अंकन गरिएको थियो ।
यो संवत्लाई किराती समाजमा सामाजिक रूपमा ‘कौटुम्बिक एकताको प्रतीकका रूपमा सहर्ष स्वीकार’ गरिएको छ । यसको साझा प्रयोगले सांस्कृतिक जागरण र किरात एकतालाई उजागर गरेको मान्न सकिन्छ । यो संवतको प्रचलन २०३० सालमा पाँचथरका कवि पुष्प थाम्सुहाङले ‘सिरिजंगा’ मासिक पत्रिकामा उल्लेख गरी दार्जिलिङबाट प्रकाशन गरेका थिए । त्यसपछि सिक्किमका जसहाङ मादेनको पहलमा अखिल किरात लिम्बु चुम्लुङले साँप वर्षको याक्थुङ पञ्चाङ्ग येले तङ्बे ५०४९ (सन् १९८९–९०) प्रकाशन गरे । थाम्सुहाङले प्रयोगमा ल्याएभन्दा मादेनले उल्लेख गरेको संवत् ४० वर्ष कान्छो रहेको छ । त्यही संवत्लाई पछ्याउँदै किरात याक्थुङ चुम्लुङले २०४८ सालदेखि आफ्नो प्रकाशनमा क्यालेन्डर छाप्दै आएको छ । त्यसयता सुनुवार सेवा समाज, किरात राई यायोक्खा र किरात याक्खा छुम्माले ‘किरात येले संवत्’का रूपमा भित्तेपात्रो प्रकाशन गर्दै आएका छन् ।
वैरागी काइँलाको संयोजनमा सन् २००९ मा सम्पन्न अन्तर्राष्ट्रिय गोष्ठीले करिब दुई हजार वर्ष संवत् घट्न पुग्यो । संवत् घटेप्रति समाजले स्वीकार गर्न सकिरहेको छैन र थप अध्ययनको बाटोसमेत खुल्न सकिरहेको छैन । इतिहासविद रेग्मीले गोपाल वंशाली हुँदाहुँदै भाषा वंशावलीलाई आधार मान्न उपयुक्त नहुने तर्क दिएका छन् भने गोपाल वंशावलीलाई घटाउने बढाउने गर्नु हुँदैन भन्ने तर्क पेस गरेका छन् । त्यसैगरी मुन्धुममा वर्ष, महिना, दिनलाई के भन्छ, त्यस्ता कुराबाट अगाडि बढ्नुपर्ने उनको सुझाव छ । यो संवतको चन्द्रमास वा सूर्यमास केलाई मान्ने भन्ने स्पष्ट छैन । तिथिमितिबारे अध्ययन भएको छैन । यो संवतको अध्ययनका निम्ति ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) स्थापना भएको छ । उक्त फाउन्डेसनले सिद्धान्त सारणीय नेपाल पञ्चाङ्गपत्र ‘किरात येले संवत् ३७९२’ (कगित आधारित ५०७३) र ‘किरात येले संवत् ३७९३’ (कगित आधारित ५०७४) पात्रो प्रकाशनमा ल्याएको पाइन्छ । तर निष्कर्षमा पुग्न अझै समय लाग्ने फाउन्डेसनका अध्यक्ष तथा कवि विक्रम सुब्बा बताउँछन् ।
किराती मिथअनुसार पैयुँको फूल फुलेसँगै येले संवतको प्रारम्भ हुन्छ । राजनीतिक इतिहासमा ओल्लोकिरात, माझकिरात र पल्लोकिरात प्रदेशमा प्रचलित यो संवतको पहिलो दिन देश, विदेशमा रहेका किरातीले धुमधामसाथ नयाँ वर्ष मनाउँछन् । संघीय प्रदेश–१ वासी किरातीले वनतरुलको टीका निधारमा ट्यास्स टाँसेर नयाँ वर्ष मनाउने फगत रहरमात्र बन्नहुन्न । घरमा पाहुनापाछा बोलाएर तरुलको टीका र तरुलको परिकार खुवाएर नदी किनारमा लाग्ने जात्रा भर्न जाने बहानामात्र बन्नु पनि सार्थक हुनसक्दैन । भ्रममा बाँच्नुभन्दा भ्रमलाई चिरेर अघि बढ्नु बुद्धिमता हो । माघे संक्रान्ति एउटै हो भने संवत् पनि एकै हुन जरुरी छ । कुन ठिक, कुन बेठिक भन्नेबारे मतैक्य नहुँदा सर्वसाधारण रणभुल्लमा परेका छन् । आफू गर्न नसक्ने अरुलाई गुहारेर सत्य, तथ्यको नजिक पुग्ने प्रयासलाई मूर्खको खेल सम्झिनु थप भ्रमको विषादी छर्नु जस्तै हो । किरात प्रदेश अथवा लिम्बुवान, खम्बुवान, कोइँचवान, याक्खावानमा प्रचलन ल्याइने संवत् प्रामाणिक हुन जरुरी छ । किरातकालीन इतिहासको प्रमाणलाई पुन:पुष्टिको सट्टा अनुमानको भरमा संवत्लाई पहिचान बनाउनु युक्तिसंगत ठहरिन्न ।

श्रोत - कान्तिपुर समाचार

No comments

Powered by Blogger.