Header Ads

इन्धनको मूल्य घटाउने तयारी

काठमाडौं: सरकारले इन्धनको मूल्य समायोजन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ११ वर्षपछि निक्कै तल झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाल आयल निगमले भने इन्धनको सहज आपूर्ति हुन नसकेको भन्दै गत भदौदेखि मूल्य समायोजन गरेको छैन ।
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेलको ३० डलरभन्दा पनि कममा झरेको छ । एक ब्यारलमा एक सय ५८ लिटर तेल हुन्छ । विश्लेषकका अनुसार साउदी अबर र इरानबीच उत्पन्न भएको असहज परिस्थिति र ती दुवै मुलुकले तेलको उत्पादनमा गरेको वृद्धिका कारण इन्धन मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनको मूल्य समायोजन नहुँदा पहिलेको तुलनामा थोरै परिमाणमा इन्धन बिक्री गरे पनि निगमलाई धेरै नाफा छ ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अन्तर्राष्ट्रिय बजारमा इन्धनको घट्दो मूल्यलाई समायोजन गर्न निगमले आवश्यक तयारी गरेको जानकारी दिए । उनका अनुसार मूल्य समायोजन गरेर प्रतिलिटरमा चारदेखि पाँच रुपैयाँ घटाउने तयारी गरिएको छ । यसका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाउने मूल्य सूचीको आधार बनाइनेछ । आईओसीले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल ल्याएर प्रशोधन (रिफाइन) गरी नेपाललाई बिक्री गर्दैआएको छ ।
 
आईओसीले प्रत्येक महिनामा एक र १६ तारिखमा नयाँ मूल्य सूची निगमलाई पठाउने व्यवस्था छ । ‘शनिबार प्राप्त हुने आईओसीको नयाँ मूल्य सूचीको आधारमा मूल्य समायोजन गरी सोमबारसम्म नयाँ मूल्य सूची सार्वजनिक गर्ने हाम्रो तयारी छ’, कार्यकारी निर्देशक खड्काले भने, ‘आईओसीबाट प्राप्त मूल्य सूचीको आधारमा इन्धनको प्रतिलिटरको अहिलेको मूल्यमा चारदेखि पाँच रुपैयाँसम्म घटाउने तयारी गरेका छौं ।’
 
निगमकाअनुसार आइओसीले १५ दिनको औसत मूल्यलाई आधार मानी निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । निगमले प्रतिलिटर चार रुपैयाँसम्म मूल्य घटाए पेट्रोल एक सय, डिजेल र मट्टीतेल ७८ रुपैयाँ प्रतिलिटरमा झर्नेछ । अन्तर्राष्ट्रिय बजारमा सन् २०१४ यता तेलको मूल्यमा ७० प्रतिशत गिरावट आए पनि नेपालमा भने मूल्य समायोजन भएको छैन । गत भदौ १५ यता नै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल २० डलर घट्दा नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म घट्नुपर्ने विज्ञको भनाइ छ ।
 
विज्ञहरूका अनुसार यसअघि तेलको मूल्य घट्दा तेल निर्यातकर्ता राष्ट्रको साझा संगठन ओपेकले तेलको उत्पादनमा कटौती गर्ने गथ्र्यो । तर यसपटक ओपेकले तेलको उत्पादनमा कटौती गरेको छैन । यसका कारण तेलको भण्डारण क्षमता बढ्दै गएको छ । अर्कोतर्फ इरान पनि तेल बजारमा प्रवेश गरेका कारण अन्तर्राष्ट्रिय बजारमा क्रमिक तेलको मूल्य घट्दै गएको हो ।

ऋण मुक्त नहुँदासम्म बोनस बाँडिदैन: खड्का

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले निगमको कुल ऋण चुक्ता नहुँदासम्म बोनस नबाँडिने दाबी गरेका छन् । शुक्रबार अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘निगमले लिएको सबै ऋण चुक्ता नहुञ्जेलसम्म इन्धन बिक्री गरेर नाफा भएको रकम बोनस वापत कर्मचारीलाई बाँडिदैन ।’
 
बोनस वापतको रकम कुन प्रयोजनमा खर्च गर्ने विषयमा अन्तिम निर्णय सञ्चालकले गर्ने जिम्मेवारी भए पनि निगमले लिएको ऋणबाट पूर्णरूपमा मुक्त नहुँदासम्म वितरण नगर्ने आफ्नो अडान रहेको खड्काले बताए । ‘विषम परिस्थितिमा मुलुक रहेको अवस्थामा कर्मचारीलाई बोनस बाँडेर जग हसाउने काम मबाट हुँदैन’ खड्काले भने,‘सरकारलाई तिर्न बाँकी रहेको सबै ऋण चुक्ता गरेपछि मात्रै सञ्चालक समितिको बैठकबाट के गर्ने विषयमा निष्कर्ष निकाल्छौं ।’
 
उनका अनुसार बोनस वापतको करिब ९० करोड रुपैयाँ सञ्चालक समितिको निर्णयको आधारमा कुनै रचनात्मक गतिविधि वा अन्य कोषमा जम्मा गरिनेछ । उनका अनुसार स्वचालित मूल्य प्रणाली लागू भएपछि नाफामा गएको निगमले गत आर्थिक वर्ष ०७१।०७२ मा कुल ३६ अर्ब ऋणमध्ये विभिन्न वित्तीय संस्थाको २४ अर्ब चुक्ता गरेको छ । अब सरकारको १२ अर्ब ६४ करोड ऋण तिर्न बाँकी छ ।
 
निगमले सोही वर्षमा सरकारलाई ११ अर्ब राजस्व बुझाउनुका साथै १७ अर्ब खुद नाफा गरेको थियो । सोही खुद नाफाबाट निगमको विनियावलीअनुसार ६ प्रतिशतका दरले ९० करोड रुपैयाँ बोनस शीर्षकमा छुट्टयाएको हो । ‘बोनस शीर्षकमा रकम मात्रै छुट्टयाइएको हो । बाँडिहाल्न र खाई हाल्न होइन्’, उनले भने । उनका अनुसार सामान्य समयमा स्वचालित मूल्य लागू भएयता प्रत्येक महिनामा निगमले एक अर्ब ३० करोड रुपैयाँ नाफा गर्दै आएको थियो ।

श्रोत - अन्नपूर्ण पोष्ट

No comments

Powered by Blogger.