Header Ads

झुम्पाको भाषिक निर्वासन

फाल्गुन १, २०७२- दलोल्यान्ड’, ‘नेमसेक’, ‘अनेकस्टम्ड अर्थ्’ जस्ता प्रसिद्ध आख्यान लेख्ने बंगाली मूलकी अमेरिकी लेखिका झुम्पा लाहिरीको नाम नसुन्ने पाठक बिरलै होलान्। नेपालको वामपन्थी आन्दोलनलाई विशेष प्रभाव पारेको नक्सलवारी आन्दोलनलाई आफ्ना आख्यानमा लेखिरहने झुम्पाको परिचय त्यत्तिमा सीमित छैन। ठूलो सामाजिक आयतन बाँचेर अन्तत: एक्लोपनमा खुम्चिँदै गएका पात्रहरू झुम्पाका लागि प्रिय छन्। उपन्यास ‘नेमसेक’ र ‘द लोल्यान्ड’ मा उनले त्यसै गरिन्। र, आफ्नै जीवनलाई पनि नयाँ भाषा र नयाँ परिवेशमा होमेर नयाँ खाले एक्लोपनमा कायाकल्प गर्न पुगिन्। ‘इन्टरप्रेटर अफ् मलाडिज्’ का लागि पुलित्जर विजेता यी लेखिकाको भर्खरै आएको नयाँ पुस्तक ‘इन् अदर् वर्डस्’ अहिले चर्चामा छ। इटालेली र अंग्रेजी गरी दुई भाषामा प्रकाशित यो पुस्तकको कथा रोचक त छँदैछ, स्तब्ध पार्ने खालको पनि छ। बंगाली मूलकी यी भारतीय आप्रवासी बेलायतमा जन्मिन्। अमेरिकामा हुर्किन्। ग्वाटेमाली मूलका पत्रकारसँग बिहे गरिन्। अहिले इटाली बसाइँ सरेकी छन्। यो पछिल्लो पुस्तक यसैको नतिजा हो। पुस्तकको प्राक्कथनमा उनले लेखेकी छन्, ‘एक प्रकारले म त भाषिक निर्वासनमा परिगएँ। मातृभाषा बंगाली अमेरिका पुग्दा विदेशी भाषा हुन पुग्यो। तपाईं त्यस्तो देशमा बस्नुहुन्छ, जहाँ तपार्इंको आफ्नै भाषालाई विदेशी मानिन्छ कस्तो अनुभूति हुँदो हो ! गुपचुपमा बोल्नुपर्‍यो, त्यहाँको हावापानीमा घोल्न नसकिएजस्तो। त्यस्तो रिक्तता, जसले तपाईंभित्रै नजानिँदो दूरी बनाउँछ। तर झुम्पाको कुरा त्यत्ति होइन, हुँदै होइन। खासमा उनी न त मातृभाषा बंगाली राम्ररी बोल्ने हुन्। दु:खसुख जिब्रो फड्कारिहाले पनि लेख्न र पढ्न त फिटिक्कै आउँदैन। कुनै भाषाबाट पूरै निर्वासित अनुभूति गर्न कसरी सम्भव होला, जुन भाषा नै आफ्नो होइन ! झुम्पा भन्छिन्, ‘सायद म नै यस्ती लेखक हुँला, जसको कुनै आफ्नो भन्ने भाषा छैन।’ इटालेली सिक्ने क्रममा झुम्पाले सुरुमा ‘टिच योरसेल्फ इटालियन’ नामक पुस्तक किनिन्। शीर्षकै रमाइलो लाग्ने यो पुस्तकको पहिलो परिच्छेद त मज्जैले छिचोलिन्। पछि पढ्दै गएपछि दाँतमा ढुंगा लागेजस्तो हुँदैगयो। त्यसपछि उनले सन्धि संयोजक, वियोजकहरू याद गर्न थालिन्। पढ्दै गएपछि लाग्यो, उनी भाषा होइन, संगीत सिक्दैछिन्। पुस्तकको सुरुवाती खण्डमा उनले इटालीकै मिलानबाट अमेरिकाको बोस्टन गएकी एक महिलाबाट प्राथमिक भाषा कक्षा लिएको, स्कुले केटीझैं घर फर्केर पनि गृहकार्यमै रत्तिएको, दुई वर्षको पठनपछि अल्बर्टो मोराभियाको उपन्यास ‘ला सिओसियरा’ (टु वुमन) मरितरी छिचोलेको चर्चा गरेकी छन्। ‘मैले अन्डरलाइन नगरेको कुनै पृष्ठको, कुनै अनुच्छेदको कुनै त्यस्तो शब्द नहोला,’ उनले सकारेकी छन्, ‘शब्दकोशै नाथे त कत्ति हेरियो कत्ति !’ इटालीको फ्लोरेन्स सहरमा ६ वर्ष बिताइसकेपछि नजानी नहुने केही शब्द टिपेर झुम्पा भेनिस गइन्। उनले टिपेका शब्द कस्ता थिए भने : के तपाईं मलाई बताउन सक्नुहुन्छ ? फलानो ठाउँ यहाँबाट कतातिर पर्छ ? यो माललाई कति दाम पर्छ ? कहिलेकाहीँ केही काम नपरी मान्छेहरूलाई इटालेली भाषा बोलेर वाक्कदिक्क लगाउने गर्न थालिन्। भाषा सिक्न यत्ति त गर्नैपर्‍यो। केही महिनापछि उनलाई एउटा साहित्यिक महोत्सवबाट निम्तो आयो। त्यहाँ उनले मार्को र क्लाउडिया नाम गरेका दुई इटालेली प्रकाशक पनि भेटिन्। उनले धाक लगाइहालिन्, ‘हल्काफुल्का इटालेली जान्या छु। सकभर अंग्रेजी बोल्न नपरे हुन्थ्यो, नत्र यति जानेको पनि बिर्सिन्छ।’ अंग्रेजी लेखेर नामदाम कमाइसकेकी यी लेखकले थालेको नयाँ अभ्यास सुनेर उनीहरू छक्क परे। झुम्पाका अस्पष्ट नबुझिने वाक्य मिलाइदिने, उच्चारण सच्याउन सहयोग गर्ने गर्न थाले। नयाँ भाषाको यो पाठशालामा झुम्पा आफूलाई जिज्ञासु बच्चीको भूमिकामा उभ्याउँथिन्, उनीहरू पनि कत्ति न सबथोक जान्ने बाबुआमाझैं भइदिन्थे। कतिसम्म भने घरीघरी इटालेली बोल्ने अक्सर अंग्रेजीमै सहज अनुभूति गर्ने उनीहरू झुम्पाकै कारण चौबीस क्यारेटको इटालेली बोल्नुपर्ने भयो। झुक्किएर  ट्वाक्कटुक्क अंग्रेजी बोलिहाले झुम्पा त्यसलाई इटालीमा अनुवाद गरिहाल्थिन्। परेन आपत् ? समयक्रममा झुम्पा अमेरिका फर्किन्। इटालेली भाषा बोल्ने धीत मरेकै थिएन, तर अब कोसँग गफिनु ? न्युयोर्कमा इटालेली भाषा बोल्ने केही मानिस छन् रे भन्ने सुनिन्। अब आएर यिनलाई बोल्न लाज भयो, गल्ती हुने हो कि भनेर। भाषा सिक्दाको फाइदा उठाउने ठाउँ कहीँ त फेला पर्‍यो। न्युयोर्क युनिभर्सिटीमा आएकी एक प्रसिद्ध रोमन लेखिकाको अन्तर्वार्ता गर्न उनी गइन्। धाराप्रवाह इटालेली बोल्नेहरूको भीडमा झुम्पालाई त्यहाँका डाइरेक्टरले स्वागत गरे।  ‘मलाई इटालेली भाषामै कुरा गर्न मन छ, तर तिनले के सोच्ने हुन् !’‘केही छैन, प्रयास गर्नुभए हुन्छ,’ डाइरेक्टरले फर्काए। सन् २००४। ब्रुकलिन। उनका पतिले एउटा सूचना थमाए ‘इम्परारे ला इटालियानो।’ अर्थात्, इटालेली भाषा सिकौं। घरछेवैमा भाषा सिक्ने ठाउँ रहेछ। झुम्पाले फोन गरिन्, एपोन्मेन्ट लिइन्। निजी स्कुल पढाउने एक उत्साही महिला भाषा सिकाउँदी रहिछन्। झुम्पाले भनिन्, ‘म केही समयपछि रोममा हुने एउटा साहित्य महोत्सवमा जाँदैछु, त्यहाँ बोल्नका लागि मात्रै भए पनि मलाई भाषा सिक्नुपर्‍यो।’ तर झुम्पाले बताइनन्, किन सिक्नुपर्‍यो। खासमा इटालेली सिक्नुका पछाडि त्यस भाषासँग उनमा पहिल्यै निर्माण भइसकेको सम्मोहनले काम गरेको थियो। त्यो भन्दै भनिनन्। उनले यो पनि खुलाइनन्, भाषा सिक्ने हुँदा कति तड्पिएकी थिइन्, कति दु:ख पाएकी थिइन्, मानौं इटालेली भाषा कुनै त्यस्तो पुस्तक हो, जुन उनी आफ्नो जीवनमा कहिल्यै लेख्न सक्दिनन्। अर्को सातादेखि उनी ती महिला भेट्न गइन्। याद रहोस्, झुम्पा यस बेला गर्भवती थिइन्। कुरो गर्न खोज्यो, ती महिला यति लामो वाक्य बनाएर बोल्दिन्छन् कि झुम्पा कसरी खुुट्टयाउन् ! तैपनि उनी वाक्यलाई साना साना अंशमा टुक्रयाएर बुझ्न खोज्थिन्। त्यसो गर्दा अलि–अलि अर्थ आउँथ्यो। अनि रोम। साहित्यिक महोत्सवमा उठेका प्रश्नहरूको जवाफ एकपछि अर्को गर्दै इटालेलीमै दिँदै गइन्। बरु अप्ठेरो नहोस् भनेर साना वाक्यहरू बोलिन्, टेनिस खेल्दा बल फर्केर आफैंतिर आएको आयै गरेझैं। छोरी जन्मेको केही समयपछि झुम्पाले अर्को पुस्तक ‘अनेकस्टम्ड अर्थ’ लेखिन्। फेरि इटालीबाटै निम्ता आयो, पुस्तक प्रोमोसनका लागि। यही बेला उनले भाषा सिकाइ फेरि निरन्तरता दिइन्। नयाँ शिक्षिकाकहाँ जान थालिन्। घरैमा समेत बोलाउन थालिन्, सातामा एकपल्ट। कुर्सीमा बस्यो, घन्टौं भएका नभएका गफ दियो। उनीहरू अन्तरंग साथी भए। साथी पनि साथित्व निभाउन माहिर थिइन्। जत्तिखेरै ‘आहा तिम्ले कस्तो राम्रो इटालेली  बोलेकी ! अब त मैले पनि तिमीसँग सक्दिन हुँला’ भन्दिने। झुम्पा लेख्छिन्, ‘खासमा कहाँबाट सत्य हुनु यो कुरा। अहिले सम्झँदा उनले मलाई बढाइचढाइ गरेको जस्तो लाग्छ।’ झुम्पा फेरि मिलान गइन्। गल्तीहरूबाट सावधान हुँदै इटालेली बोल्ने अभ्यास जारी थियो। तर अर्काको भाषा जत्ति बोले पनि कहाँ बिग्रयो, कहाँ मिलेनजस्तो भइरहने। सन् २००९ मा अमेरिका फर्केर अर्की निजी शिक्षिका राखिन्। ३० वर्ष काटेकी विधवा भेट्न उनी एक घन्टा रेल चढेर पुग्थिन्। शिक्षिका भेट्न जाने त्यो एक घन्टाको समयरेखा उनका लागि औधि प्रिय थियो। एउटा अन्तर्वार्तामा झुम्पाले भनेकी छन्, ‘म घरबाट निस्कन्थें, मानौं म नियमित जीवनबाट सधैंका लागि निस्किइरहेकी छु। अबको पुस्तक के विषयमा लेख्ने होला भनेर कहिल्यै सोचिनँ। बाटामा देखिएका विभिन्न दृश्यहरूलाई इटालेली भाषामै सोच्ने, वर्णन गर्ने कोसिस गर्थें। मानौं, त्यो सानो तर स्वच्छन्द उडान थियो, जहाँ केवल इटालेली भाषामात्रै छ।’ भाषिक यात्रा ! बस्नु छ अमेरिका, सोच्नु छ इटाली। इटालीको बारेमा अझै कत्ति सोचिरहनु ! एउटा बिन्दुमा पुगेर उनी इटाली नै जाने विचार गर्न थालिन्। इटालेली बोल्दा बोल्दा अब त यस्तो हुन थाल्यो, उनी इटालीमा मात्रै आफूलाई सुरक्षित पाउँछिन्। रोम। झुम्पाले सानैमा मन पराएको सहर। अमेरिका फर्कनुअघि उनी छ महिना उतै बस्ने निधो गरिन्। छ महिनामा कुनै अंग्रेजी पुस्तक नपढ्ने, नलेख्ने। इटालीमै पढ्ने, इटालीमै लेख्ने। इटालीमै खाने, इटालीमै सुत्ने। सपना पनि इटालेलीमै देख्ने ! साथमा लगिएका सबै पुस्तक अध्यादेश शैलीको नयाँ निर्णयमा परेर एकाएक काम नलाग्ने हुन पुगे। कोठाको संरचना नै बदलिन्। भाषा सिक्नका लागि उनले अर्कोपल्ट आफैंलाई फेरि स्वनिर्वासनमा होमेकी थिइन्। अमेरिका फर्किन्, अमेरिकामै नभएजस्तो गरी। इटालेली पढ्न लेख्न थालिन्, घरमै नभएजस्तो गरी। झुम्पाले त्यसबीचमा सबैभन्दा अप्ठेरो मानिने मोराभियाको ‘ग्ली इन्डिफिरेन्टी’, ‘ला नोइआ’, सिजर पाभेजको ‘ला लुना इ आई फालो’, क्वासिमोडोका कविता खरर्र पढ्न नसके पनि बिस्तारै बुझ्न थालिन्। कहीँ कहीँ नबुझेजस्तो लाग्यो भने ठान्थिन्, यत्ति त नबुझे पनि हुन्छ। मिलाएर बुझ्नुपर्छ। झुम्पाले पुस्तकको प्राक्कथनमा लेखेकी छन्, ‘मैले बिस्तारै पढें, तनावमा पढें। अप्ठेरो गरी पढें। बाधा अवरोधलाई प्रेरणा नै मान्दै पढें। यसरी पढें, मानौं हरेक वाक्य संरचना मार्बल ढुंगा हुन्, र नबुझिएका शब्दचाहिँ गहना–जुहारत।’ पुस्तक पढिसक्दा उनी सन्तुष्टिको चरम क्षण अनुभूति गर्थिन्। प्रत्येक पुस्तकले उनलाई चमत्कृत गथ्र्यो। एक भाषामा लेख्ने, अर्को भाषामा पढ्ने यो निरन्तरको अभ्यासले झुम्पालाई एउटै शरीरभित्र दुई व्यक्ति बाँचिरहको भान हुन्थ्यो। अंग्रेजी किन छाड्नु थियो र उनलाई, तर अर्को भाषाको भूत सवार भइसकेको थियो। सपरिवार रोम आउने जाने गर्न थालिन्। भिया गलिया नामको गल्लीमा अपार्टमेन्टमा जीवनको नयाँ अध्याय सुरु भयो। इटालेलीमै डायरी लेख्न थालिन्। कुनै कुनै कुरा लेख्न नआउँदा दिमाग टन्टनी दुख्थ्यो, तर अंग्रेजीमा लेखेर काम चलाउनतिर लागिनन्, बरु शब्द खोज्न थालिन्। गल्ती नै गल्ती भरिएको इटालेली भाषा लेख्नु उनको दैनिकी हुन थाल्यो। न सच्याउएको छ, न डिक्सनरी हेरेको छ। आफ्नो कुरा आफैंलाई बुझ्न गाह्रो पर्नेगरी लेखिन्। घरिघरि त लाग्थेछ, यस्तो किन गरिरहनु परेको होला ! आखिर म त अंग्रेजी लेखेर चर्चितै भइसकेकी हुँ। रोमका एक लेखक साथीले एक दिन इमेल लेखे, ‘नयाँ भाषा नयाँ जीवनजस्तै हो। व्याकरण र वाक्पद्धतिले तिमीलाई नयाँ हावा भरिदिन्छन्। तिमी एउटा तर्कमा चिप्लिन्छौ र अर्को संवेदना लिएर उठ्छौ।’ झुम्पालाई ती वाक्यहरूले छोएर गए, किनकि उनी त्यस्तो जीवन बाँचिरहेकी थिइन्, जस्तो उनका साथीले इमेलमा अथ्र्याइरहेका थिए। लाग्यो, अब मेरो कायाकल्प भयो। विदेशी भाषा पढ्नु भनेको आफूलाई नै नयाँ ढंगबाट सोच्नु हो, झुम्पालाई यस्तै लाग्छ। बाहिरी दुनियाँले चिनेकी झुम्पा अंग्रेजी भाषामा उत्कृष्ट प्रभावकै कारण छाएकी थिइन्। तर बंगाली पृष्ठभूमिकी यी लेखकलाई भित्रभित्रै त्यही अंग्रेजीले निराश पारिरहेको रहेछ। उनी अंग्रेजी भाषाबाट अर्को भाषामा कायाकल्प भएको एक दिन अचानक यो निष्कर्षको वरिपरि आफूलाई पाइन्। म अंग्रेजीबाट थाकिसकें, उनले एक दिन लेखिन्। ‘अंग्रेजीले मलाई ठूलो नामदाम दियो, तर भित्रभित्रै असफलताको अनुभूति र डर सँगसँगै भइरह्यो,’ झुम्पाले पुस्तककै एक खण्डमा लेखेकी छन्, ‘इटालेली भाषाले मलाई त्यो डरबाट भाग्ने निहुँ दियो। लेखकको रूपमा मैले आफूलाई एकपटक फेरि भत्काएँ र नयाँ संरचनामा उभ्याउन कोसिस गरें। आज म इटालेली भाषामा थुप्रै गल्ती गरुँला तर असफलता र दु:खको अनुभूति भने फिटिक्कै छैन।’ झुम्पाले नयाँ भाषा सिकेर लेख्न थालेकामा थुप्रैले नकारात्मक टिप्पणी गरेका रहेछन्। तर ती प्रतिक्रियाले आफूलाई फरक नपर्ने उनको दाबी छ। परिवर्तन आफ्नो रोजाइ भएको उनी हाकाहाकी भन्छिन्। ‘म त्यो आमाकी छोरी हुँ, जो कहिल्यै बदलिन सिक्नुभएन। अमेरिका आइसक्दा पनि उही कलकत्ताकै खाना, बंगाली पोसाक, उहाँले मौलिक पहिचानमा अडिन सकेकामा ५० वर्ष नाघ्दासम्म गर्व गरिरहनुभयो, त्यत्रो अमेरिका बस्नुभयो, तर मानौं उहाँ कलकत्ता छाडेर कहीँ जानुभएकै छैन,’ झुम्पा लेख्छिन्, ‘मचाहिँ पूरै उल्टा छु। कस्तै नयाँपनहरूमा पनि नबदलिनु मेरी आमाका लागि ‘विद्रोह’ थियो, मेरा लागि भने यथास्थितिहरूमा पनि निरन्तर बदलिइरहनु।’ झुम्पा आफ्नो चिहानमा यस्तो लेखियोस् भन्ठान्छिन् : ‘कुनै एउटी अनुवादक महिला थिई, अनुवाद गर्दागर्दै एक दिन स्वयंले आफूलाई समेत अनुवाद गरी।’ 

स्रोत : इन् अदर वर्ड्स, गार्डियन, भोग,  पोएट्स एन्ड राइटर्स
(कान्तिपुर समाचार)

No comments

Powered by Blogger.