Header Ads

नेपालमा पेट्रोलियम खानी

नेपालले हालैका वर्षहरूमा आफ्नो कुल बजेटको लगभग एक तिहाइ भाग पेट्रोलियम पदार्थ आयातमा खर्च गरिरहेको छ भने गत आर्थिक वर्षमा मात्र लगभग रु। एक खर्ब पचास अर्बको पेट्रोलियम पदार्थ आयातमा खर्च भएको छ । २०५० साल अगाडिसम्म खाना पकाउन अधिकांश रूपमा दाउरा र मट्टितेल प्रयोग गरिँदै आएकोमा विगत २० वर्षमा यी दुवै इन्धनलाई ग्यासले प्रतिस्थापन गरेको छ ।
आयल निगमको २० वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा मट्टितेलबाहेक अन्य पेट्रोलियम पदार्थको आयात प्रत्येक वर्ष उच्च दरमा बढिरहेको देखिन्छ । आर्थिक वर्ष २०५०/५१ को तुलनामा २०७०/७१ मा पेट्रोलको आयात ७०० प्रतिशत, डिजेलको ३०० प्रतिशत, हवाई इन्धनको ३०० प्रतिशत र खाना पकाउने एलपी ग्यासको २४०० प्रतिशतले बढेको छ । मट्टितेलको आयात भने २०६०/६१ सम्म ९३ प्रतिशतले वृद्घि भई २०७०/७१ मा आइपुग्दा ९४ प्रतिशत ले घटेको छ । २०७१/७२ मा नेपालमा सबभन्दा बढी डिजेल (८०८५६७ किलोलिटर) त्यसपछि क्रमशस् पेट्रोल (२५३३८१ किलोलिटर), एलपी ग्यास (२३२६६० मेट्रिक टन), हवाई इन्धन (१२५६७८ किलोलिटर) र सबैभन्दा कम मट्टितेल (१८४०९ किलोलिटर) आयात भएको देखिन्छ ।
हाम्रो दैनिक जीवनयापन र विकास निर्माणको निर्भरता पेट्रोलियम पदार्थमा कसरी वर्षैपिच्छे बढिरहेको छ भन्ने कुरा माथिको तथ्यांकले छर्लंग पार्छ । पेट्रोलियम पदार्थ एउटा सामरिक महत्त्वको खनिज हो र यसलाई छिमेकी देशले कुनै पनि बेला आफ्नो स्वार्थपूर्ति गर्न हतियारको रूपमा प्रयोग गर्न सक्छ भन्ने कुरा हामीले बुझ्न नसक्नु र सो अनुसारको तयारी नगर्नु हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।
पेट्रोलियम खानीको सैद्धान्तिक :- पक्ष पेट्रोलियम शब्द ग्रिक भाषाबाट आएको हो, जसमा ‘पेट्रो’ भनेको चट्टान र ‘ओलियम’ भनेको तेल भन्ने अर्थ लाग्छ। अर्थात चट्टान भित्रबाट निकालिएको तेललाई पेट्रोलियम भनेर नामकरण गरिएको हो । समुद्र, ताल वा सिमसारमा रहेका सूक्ष्म जीव तथा लेउका अवशेषहरूको खात लाखौं वर्षमा जमिनमुनि दब्न गई अत्यधिक ताप र चापका कारण विस्तारै पेट्रोलियम पदार्थमा परिवर्तन हुन्छन्। साधरणतया तेल बन्नका लागि १०० देखि १५० डि.से. र ग्यास बन्नका लागि १५० देखि २२० डि.से. तापक्रम आवश्यक हुन्छ। सामन्यत पेट्रोलियम पदार्थ बन्नका लागि जमिन देखि ४ देखि १० कि.मि.गहिराइ भागलाई उपयुक्त मानिन्छ । पेट्रोलियम खानी बन्नको लागि तीनवटा कुराको आवश्यकता पर्छ। जैविक पदार्थले भरिपूर्ण स्रोत चट्टान (सोर्स रक), तरल र ग्यास पदार्थहरू जम्मा भएर बस्नसक्ने छिद्रहरू भएको चट्टान (रिजरभ्वायर रक) र तेल जमिन सतहमा निस्कनका लागि रोक्ने छिद्रहरू नभएको ढकनीको रूपमा काम गर्ने चट्टान (क्याप रक) । स्रोत चट्टानमा पेट्रोलियम पदार्थ बन्छ र यो छिद्रहरू भएको चट्टानमार्फत सयौं किमिसम्म टाढा बहेर जान्छ र चित्रमा देखाइए जस्तै ढकनीका रूपमा काम गर्ने चट्टान (क्याप रक) को मुनि जम्मा भएर बस्छ । भण्डारण भएर बस्ने ठाउँलाई पेट्रोलियम ट्रयाप भनिन्छ । यी तीनवटा आधरभूत कुरामध्ये एउटामात्र अवस्था उपलब्ध नभएमा पनि पेट्रोलियम खानी बन्न सक्दैन ।
नेपालमा पेट्रोलियम खानीको सम्भावना :- नेपालको भौगर्भिक अध्ययनले पेट्रोलियम पदार्थको खानी निर्माणलाई आवश्यक पर्ने माथि भनिएका सबै अवस्था विद्यमान रहेको प्रमाणित गरेको छ। विश्व तथ्यांकलाई हेर्ने हो भने ७० प्रतिशत तेलका खानीहरूको स्रोत २२ करोडदेखि ६ कारोड वर्ष पुराना चट्टानहरूमा (मेसोजोइक पिरियड) भेटिएको छ । नेपालको तराईमा गरिएको भू–भौतिकी सर्वे (जियोफिजिकल सर्वे) ले हाइड्रो कार्बन भएका स्रोत चट्टानहरू ४ देखि ६ कि.मि. गहिराइमा रहेको देखिएको छ । यो पेट्रोलियम पदार्थ बन्नका लागि उपयुक्त तापक्रम र चाप भएको अवस्था हो । स्रोत चट्टानहरूमा बनेको पेट्रोलियम भण्डारणका लागि आवश्यक पर्ने प्रशस्त छिद्र भएका चट्टान जस्तै स्यान्डस्टोन, डोलोमाइट र चुनढुंगा र ढकनीको रूपमा काम गर्ने मडस्टोन, सेल तथा स्लेट नेपालको चुरे र महाभारत क्षेत्रमा प्रशस्त छन् । दैलेख जिल्लाका श्रीस्थान, नाभिस्थान र पादुकास्थान लगायतका ४५ ठाउँबाट प्राकृतिक ग्यास र कच्चा तेल रसाएको, निरन्तर रूपले प्राकृतिक ग्यास निस्किरहेको तथा दशकौंदेखि बलिरहेकोले अवस्था नेपालमा कहीं न कहीं पेट्रोलियम खानी छ भन्ने कुराकै थप प्रमाण हुन्। यस्तै नेपालको पश्चिमतिर पाकिस्तानको पटवार बेसिन र पूर्वतिर भारतको आसामको डिग्बोइमा हाम्रो तराईको जस्तै भौगर्भिक अवस्था भएका ठाउँमा तेल उत्खनन भैरहेको तथ्यले पनि नेपालको तराई वा चुरे क्षेत्रमा पेट्रोलियम खानी छ भन्ने कुराको थप पुष्टि गर्छ ।
नेपालमा पेट्रोलियम अन्वेषणको स्थिति :- खानी तथा भूगर्भ विभागले विसं २०३६/३७ मा विश्व बैंक, फ्रान्स र क्यानेडियन सहयोगमा सम्पूर्ण तराई तथा चुरे पर्वत शृङ्खलामा करिब ४८,००० वर्ग किमिमा एरोम्याग्नेटिक सर्भे सम्पन्न गर्‍यो। यसबाट सकारात्मक संकेत प्राप्त भएपछि वि.सं. २०३९ मा पेट्रोलियम अन्वेषण परियोजना स्थापना भयो । यस परियोजनाले ग्राभिटी तथा सेस्मिक सर्वेक्षण सम्पन्न गरिसकेको छ ।
सर्वेक्षणका आधारमा तराई र चुरे पर्वत शृंखलालाई १० वटा खण्डमा विभाजन गरिएको छ (चित्र नं. २) । बेलायतको सेल कम्पनीले २०४२ देखि २०४६ सम्म पूर्वी नेपालको ब्लक नं १० मा ३५२० मिसम्म ड्रिल गर्दा केही पनि नभेटिएपछि ड्रिल गर्ने कार्य स्थगित गरिएको थियो। तर अनौपचारिक जानकारीअनुसार सम्भावित तेल भएको ठाउँमा केही सय मिटर ड्रिल गर्न बाँकी रहँदा भारतबाट उपकरण ल्याउन बन्देज लगाइएपछि बाध्यतावश ड्रिलिङ बन्द गरिएको भनिन्छ। सत्यता के हो, खोजी हुनु जरुरी छ । सन् १९९८ मा अमेरिकाको टेक्सना रिसोर्सेज कम्पनीले नेपालगन्ज (ब्लक नं. ३) र चितवन (ब्लक नं. ५) मा सर्वेक्षण लाइसेन्स लिएको थियो भने बेलायतको केर्न इनर्जी कम्पनीलाई ब्लक नं. १, २, ४, ६ र ७ मा सर्वेक्षण अनुमति दिइएको थियो। तर यी दुवै कम्पनीले विविध कारण देखाई सर्वेक्षण कार्य सुरु नै गरेनन्। हाल यी दुवै कम्पनीको सर्वेक्षण लाइसेन्स खारेज गरिएको छ ।
क्रस बोर्डर पेट्रोलियम खानीको राजनीति :- परियोजना स्थापना भएको ३३ वर्षसम्म पनि नेपालमा पेट्रोलियम खानी अन्वेषण सोचेअनुसार अगाडि बढ्न नसक्नुमा क्रस बोर्डर पेट्रोलियम खानीको राजनीतिले पनि काम गरेको छ कि भन्नेतर्फ विचार गर्नु जरुरी छ । इतिहासमा सीमा वारपार फैलिएका तेलखानीले निम्ताएका युद्घका प्रशस्त उदहरण छन् ।  रुमाइला तेलखानी इराक र कुवेतको सीमामा पर्छ । सन् १९८९ मा इराकले कुवेतलाई सिमानामा छड्के ड्रिलिङ गरी अत्यधिक पेट्रोलियम झिकेको र आफ्नो खानीमा भएको सबै तेल कुवेततर्फ बहेको आरोप लगायो । इराकले आफ्नो लगभग २।४ विलियन डलर बराबरको तेल कुवेतले चोरेकोले सो बराबरको क्षतिपूर्ति माग गर्‍यो। कुवेतले आरोपको इन्कार गरेपछि सन् १९९० मा इराकले कुवेतमा आक्रमण गर्‍यो । सन् १९३२ मा भएको बोलिभिया र पारग्वे बीचको युद्घ, वा सन् २०१२ मा भएको उत्तरी र दक्षिणी सुडानको युद्घ सबै सीमा वारपार फैलिएर रहेका तेलखानीले निम्ताएका थिए । नेपालमा पेट्रोलियम खानी भएका प्रशस्त प्रमाण हुँदाहँदै यसको सर्वेक्षण तथा उत्खनन कार्य दशकौंसम्म पनि किन आगाडि बढ्न सकेन भन्ने कुरालाई पेट्रोलियम खानीको प्रकृति र इतिहासमा अन्तर्राष्ट्रिय सीमा वारपार फैलिएका खानीले निम्ताउन सक्ने द्वन्द्वसँंग जोडेर विश्लेषण गर्न जरुरी छ । नेपालको तराई तथा उत्तर भारत सबै गंगा बेसिनमा पर्छन् र यसको भौगर्भिक बनावट तथा इतिहास एउटै छ ।
भारतको आसाममा भएको पेट्रोलियम खानीको भौगर्भिक अवस्था र नेपालका तराई क्षेत्रको भौगर्भिक अवस्था पनि मिल्दोजुल्दो छ । तसर्थ नेपालमा पेट्रोलियम खानी पत्ता लाग्यो र पेट्रोलियम झिक्न थालियो भने स्रोत चट्टानबाट पेट्रोलियम नेपालतर्फ बहने सम्भावना रहन्छ र यसले सीमापारि रहेका खानीमा असर पार्ने निश्चित छ । यिनै कारणले पनि नेपालमा पेट्रोलियम सर्वेक्षण र उत्खनन कार्यलाई दक्षिण छिमेकीले सजिलै अगाडि बढ्न दिने छैन । पेट्रोलियम अन्वेषण, उत्खनन र प्रशोधन प्राविधिक रूपमा जटिल कार्य हो र तत्काल सुरु गरे पनि नेपालमै पेट्रोलियम उत्पादन गरी प्रयोग गर्न लामो समय पर्खिनु पर्नेछ । तसर्थ हाललाई पेट्रोलियम खपत कम गर्न वैकल्पिक ऊर्जा (बिजुली, दाउरा, ब्रिकेट, सोलार, वायो ग्यास आदि) उपयोगलाई प्रोत्साहित गर्ने, उत्तर छिमेकबाट पनि पेट्रोलियम आयातका लागि पूर्वाधार निर्माणकार्य अगाडि बढाउने र दीर्घकालीन रूपमा देशमै पेट्रोलियम उत्खनन तथा प्रशोधन गर्ने नीति सरकारले लिनु जरुरी छ ।
भूगर्भशास्त्र केन्द्रीय विभाग, त्रिविका प्राध्यापक पौडेलले कान्तिपुर दैनिकमा लेखेको लेख ।
(आर्थिक निउज बाट)

No comments

Powered by Blogger.