Header Ads

नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि (फोटो फिचर)

बहराइन ३-० गोलले पराजित
काठमाडौं : नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ ।  

बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । उपाधिसँगै नेपाली टिमले ५० हजार अमेरिकी डलरसहित ट्रफी हात पारेको छ । 
सन् १९९३ मा साफ च्याम्पियनको उपाधि जितेयता नेपाललाई  दोस्रो उपाधि दिलाउने क्रममा बिमल घर्ती मगरले पहिलो हाफको पाँचौ मिनेटमै पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो ।  

शुरुबाटै आक्रमक खेलेको नेपालले दोस्रो हाफमा पनि त्यसलाई जारी राख्यो । नेपालका लागि खेलको ८७ अाै‌‌ मिनेटमा विशाल राईले अर्को गोल थपे । 

दुई गोल गरेको पाँच मिनेट नबित्दै खेलको निर्धारित समयको अन्तिम मिनेटम माल्दिभ्सविरुद्द्धको खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थप्दै नेपाललाई शानदार जित दिलाए ।
नेपालका लागि बिराज महर्जनले दिएको क्रसलाई अन्जन विष्टले गरेको हेडबल डिबक्समा अल्मलिएको अवस्थामा बिमलले पाँचौ मिनेटमा गोल गर्दै खाता खोले । 
 
शुरुबाटै आक्रमक खेलेको नेपालका लागि बिमलले बहराइनको डिबक्समा अल्मलिएको बललाई सदुपयोग गर्दै जाली चुमाएपछि नेपालको २३ वर्षदेखिको उपाधिको खडेरी टर्ने देखिएको थियो । 
नेपाली टिमलाई उपाधि जिताउनका लागि किपर विकेश कोथु नायक सावित भए । उनले बहराइनका हरेक डरलाग्दा प्रहारलाई प्रत्येक पल्ट विफल बनाए । 
 
नेपालमा खुसियाली ल्याउने क्रममा खेलको ८७ अाै‌ मिनेटमा डिबक्स नजिकै बहराइनका खेलाडीबाट खोसेर अन्जन विष्टले मिलाइदिएको उत्कृष्ट पासमा विशाल राईले जाली चुमाए । 

त्यसअघि नै नेपालका सुमन लामा र बहराइनका अली थह्वानी रेडकार्ड पाउँदै मैदान छाडेका थिए ।  दोस्रो गोल गरेपछि झनै आक्रमक बनेको नेपालले अन्तिम समयसम्म बहराइनको पोस्टमा चार्ज गरिरह्यो ।
निर्धारित समयको अन्तिम ९० अाै‌ मिनेटमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थपे । यो पटक पहिलो गोल गरेका विमल घर्ती मगरले मिलाइदिएको क्रस पासमा प्रतियोगिताकै सर्वाधिक चार गोल गरेका नवयुगले बहराइनविरुद्ध तेस्रो गोल गरे  । 

फिफा वरियतामा समेत बहराइन नेपालभन्दा धेरै माथि रहेको बहराइनलाई पराजित गर्दै उपाधि जितेपछि नेपाली फुटबलले कोल्टे फेर्ने विश्वास गरिएको छ । बरियतामा बहराइन एक सय २१औं स्थानमा छ । नेपाल एक सय ९६औं स्थानमा छ ।
 
यसअघि नेपालले यू-२३ उमेर समूहमा मात्र बहराइनसँग प्रतिस्पर्धा गरेको थियो । मैत्रीपूर्ण उक्त खेलमा नेपाल बहराइनसँग ३-० गोलले पराजित भएको थियो। बंगबन्धु गोल्ड कपको सेमिफाइनल पुग्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली टोली अहिले उपाधि नै चुम्न सफल भएको हो । 
 
समूह ‘ए’बाट प्रतिस्पर्धा गरेको नेपाल समूहको उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा नेपालले मलेसिया र आयोजक बंगलादेशलाई बराबरीमा रोकेको थियो भने  श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। यसैगरी समूह 'बी'मा रहेको बहराइनले सेमिफाइनलमा आयोजक बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
नेपालले माल्दिभ्सविरुद्धको सेमिफाइनलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो। फाइनल खेलमा पनि नेपालले सोही स्तरको खेल देखायो ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजाविहीन बन्दै आएको नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ गोलले हराएको थियो। माल्दिभ्सविरुद्ध नवयुग  श्रेष्ठले ह्याट्रिक पूरा गर्दै आफूलाई नेपालको नयाँ स्ट्राइकरका रूपमा स्थापित गरेका थिए । अर्का युवा मिडफिल्डर विशाल राईले समेत पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

आजको खेलमा पनि बिमलसहित यी दुबै खेलाडीले गोल गर्न सफल भए ।  विराज महर्जनको कप्तानीमा बंगबन्धु गोल्डकप खेलिरहेको नेपालले बहराइनलाई हराएर उपाधि जितेपछि नेपालले ठूलो उपलब्धि हाँसिल गरेको छ।
नेपाल सिनियर समुहमा सन् १९९९ को दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)पछि पहिलोपटक फाइनलमा पुगेको हो । नेपालले बंगबन्धु कपलाई भारतमा आयोजना हुन लागेको १२औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका रूपमा लिएको छ ।

श्रोत - अन्नपुर्ण पोष्ट

No comments

Powered by Blogger.