Header Ads

कविता : जिन्दगीको मुल्यांकनमा कवि

समा श्री
एक ठुन्को
गोपी बाँस झैँ जिन्दगी
भत्भती सेकिएर पोलेको
अभावका प्वालमा
लाचारीका प्वालमा
बिवशताका प्वालमा
ऊ औंला राखेर बन्द गर्छ
सुमसुमाउँछ
जिन्दगी हो, ऊ माया गर्छ
ओठ लगाएर
सुमेरु प्वालमा
र लामो निश्वास छोडछ
सात प्वालबाट
सात सुर निस्कन्छ
सबै बिर्सेर त्यसैमा रमाउँछ
कवि एक ठुन्को बाँस रहेछ ।
सम्मान पनि छ
ऊ हुर्दुराउँदै
धक्का मुक्की सहँदै
आफुले प्रशंशा लेखेको
किताबको बिमोचनमा
अटुट रुपमा पुगिरहेको हुन्छ
क्षणभरको आदरले
तातो हावा भरिएको बेलुन झैं
ऊ उडदै उडदै घर आई पुग्छ
कुनाबाट
पाण्डुलिपी राखिएको
झोला तानेर छातीमा च्याप्छ
आँखाबाट सपना बगाउँछ
कवि मृत सपना रहेछ ।
उज्याला प्रशस्त छर्छ
खोपामा
मट्ठीभरको उज्यालोमा
आफ्ना बाँचिरहेका हुन्छन्
गुनासो
गुम्सिएर मर्छन्
उर्जा नसकिन्जेल
बलिरहन्छ
र उर्जा सकिएपछि
निमेष अन्तर पश्चात
दुईचार समबेदना
दुई चार फूलमाला
र दूईचार पुष्पगुच्छा
शरिरमा सजाएर
शिरानीमा बल्छ
पिल्पिल् पिल्पिल् दियो
कवि खोपाको दियो रहेछ ।

कवियत्री - समा श्री

3 comments:

  1. कविता : जिन्दगीको मुल्यांकनमा कवि लाई स्थान दिनु भएकोमा आभार Random Nepal .

    ReplyDelete

Powered by Blogger.